भरतपुर- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन्।
नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विदेशबाट आऊने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘विश्वव्यापीकरणको यो समयमा हामीलाई कतिपय क्षेत्रमा वैदेशिक लगानि आवश्यक पर्छ,’ दाहालले भने, ‘तर कुनकुन क्षेत्रमा लगानी भित्राउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनुपर्छ नत्र यसले आम उद्यमी र जनता नै विस्थापित हुने खतरा बढ्छ।’
अण्डा उत्पादक व्यवसायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए।
दाहालले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढन सक्ने बताए। कृषिमा राज्यको चरित्र जनपक्षीय हुनुपर्ने उनले उल्लेख गरे।
आफुले समृद्ध नेपालको सपना देखेको बताउदै दाहालले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताएका थिए। चुनावमार्फत जनताले यही समृद्धिको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा आम किसान, व्यवसायीको बृहत्तर हितका पक्षमा काम गर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।