काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
नेपाली फुटबलको शुद्धीकरण र पारदर्शिताका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका शेर्पाले एन्फा नेतृत्वका लागि उम्मेदवारी घोषणाको तयारी गरेका छन्।
काठमाडौंमा आज दिउँसो एक कार्यक्रम गरी शेर्पाले एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दैछन्।
शीर्ष डिभिजनको क्लब हिमालयन शेर्पाको अध्यक्षसमेत रहेका उनी एक वर्षअगाडि भएको विशेष साधारणसभामा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए। एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ फिफाबाट प्रतिबन्धमा परेपछि बाँकी रहेको एक वर्षको कार्यकालका लागि विशेष साधारण सभाबाट नेतृत्व चुनिएको छ।
एन्फाको उपाध्यक्ष समेत रहेका शर्मा नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन्।
उनकै सक्रियताले एन्फा दुई दशक नेतृत्व गरेका थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई १० वर्ष फुटबलबाट प्रतिबन्धमा परेका छन्।
एन्फाको नयाँ नेतृत्वका लागि एन्फाको सिइओसमेत भई काम गरेका पूर्वप्रवक्ता इन्द्रमान तुलाधर र प्रशिक्षक कृष्ण थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।