काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रियसमाभा मनोनित हुने तीन सदस्यबारे निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ।
बालुवाटारमा शुक्रबार बसेको बैठकले थप परामर्श गरी सो बारे निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिइएको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यसबारे शनिबारसम्म निर्णय बाहिर आउने मन्त्री बस्नेतले बताए।
माघ २४ गते राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसकेकाले मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ।
यसैगरी, बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिने, औद्योगिक वौद्धिक सम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय गरेको छ।
त्यसैगरी, बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको, तपस्वी रामबहादुर बम्जनले आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।