काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। नामिबियाको डब्लुएपी मैदानमा टस जितेको ओमानले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
नेपालले सय रन पूरा गर्दा सुरुवाती ६ विकेट गुमाइसकेको छ। नेपालले ३४.१ ओभरमा सय रन पूरा गरेको हो। अहिले शरद भेषावकर र रोहितकुमार पौडेल ब्याटिङ गरिरहेका छन्।
उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौ ओभरको अन्तिम ७ रन बनाएर आउट भए। १७ बल खेलेका उनले १ रन प्रहार गरे। अर्का ओपनर दिलीप नाथ १९ रन बनाएर आउट भए। उनले ४९ बल खेल्दा ३ चौका प्रहार गरे।
आरिफ शेखले फेरि पनि राम्रो ब्याटिङ गर्न सकेनन्। उनी ६ रनमा आउट भए। कप्तान पारस खड्का १७ रन बनाएर खेलिरहदा कालीमुल्लाहबाट बोल्ड भए। उनले ४२ बल खेल्दा १ चौका प्रहार गरे। नेपालको रन स्कोरलाई गति दिने प्रयास गरेका दीपेन्द्रसिंह ऐरी २० रनमा पेभेलियन फर्के। उनले ३२ बल खेल्दा ३ चौका हिर्काए। लगत्तै बसन्त रेग्मी १ रनको झिनो स्कोरमा आउट भए।
१ सय ११ रनमा शरद भेषावकर सातौं विकेटको रुपमा आउट भए। उनले २२ रनको योगदान दिए। ३२ बल खेलेका उनले ३ चौका प्रहार गरे।
ओमानका कालीमुल्लाले ३ विकेट लिए। जएस ओएड्रा, खावर अली, बिलाल खान र फइज बटले १–१ विकेट हात पारे।
दोस्रो खेलमा नेपालले टिममा कुनै परिवर्तन गरेको छैन। टिममा नामिबिया विरुद्ध बिहीबार उत्रिएका सबै खेलाडी छन्।
नेपाली टिम– ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का, आरिफ शेख, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने।
डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सवै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।