काबुल- मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै बम आक्रमणमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ। देशको उत्तरी क्षेत्र पर्वानमा स्थानीय समय अनुसार बिहान ११ बजेर ४० मिनेटमा गराइएको विस्फोटमा २४ जनाको मृत्यु भएको थियो। यसको केहीबेर (करिब एक घण्टा)पछि अफगान राजधानी काबुलमा गराइएको आक्रमणमा २२ जनाको मृत्यु भएको थियो। घटनाको अफगानी गृह मन्त्रालयले पुष्टि गरेको छ।
पर्वानमा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका साथैे काबुल विस्फोटमा२२ जनाको मृत्यु भएको र ३८ घाइते भएका गृह मन्त्रालयले जनाएको छ।
पहिलो आक्रमण राष्ट्रपति असरफ घानीको निर्वाचन अभियानलाई लक्षित गरी भएको र काबुलमा रक्षा मन्त्रालयलाई लक्षित गरी आक्रमण भएको बताइएको छ। मारिनेमा ६ सुरक्षाकर्मी र महिला तथा बालबालिकासमेत रहेको जनाइएको छ।
यही सेप्टेम्बर २८ मा हुन लागेको निर्वाचनलाई बिथोल्न तालिवान समूहले आक्रमण गरेको सरकारको दाबी छ। दुवै घटनामा तालिवान समूहले आफ्ना लडाकुको सम्लग्नता रहेको दाबी गरिसकेको छ।
यसैबीच आक्रमणपछि राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी दुवै आक्रमणलाई तुच्छ आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ।
तालिवान समूहले निर्दोष जनताको हत्या गरेर निर्वाचन नरोकिने र तोकिएको समयमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।