सुर्खेत- राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन्।
महिला तथा खुला सदस्य तीनतीन र अपांग/अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा ८ जना निर्वाचित भएका छन्। वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ हुम्लाकी कविता बोगटी, सुर्खेतकी नन्दा शर्मा (चपाई) र दलिततर्फ कालीकोटका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
माओवादी केन्द्रबाट खुलातर्फ जाजरकोटका कालीबहादुर मल्ल, महिलातर्फ मुगुकी युटुल तामाङ र अपांग/अल्पसंख्यकतर्फ कालिकोटका जीवनबहादुर बुढा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
एकल संक्रमणीय प्रणालीअनुसार खुला तथा महिलातर्फ निर्धारण गरिएको मतभार एक हजार १६२ क्रस गरी उनीहरु विजयी भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए।
उपप्रधानपञ्चदेखि राष्ट्रियसभा सदस्य
कालीकोटका नरपति लुहार राष्ट्रियसभाको सदस्यको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रदेश ६ बाट विजयीको खाता खोल्न सफल राष्ट्रियसभाको सदस्य भएका छन्।
राष्ट्रियसभाको सदस्यमा विजयी नरपति लुहार उपप्रधानपञ्च, वडाध्यक्ष हुँदै राष्ट्रियसभाको सांसद बनेका हुन्। बहुदल आएपछि एमालेको राजनीतिमा लागेका लुहारलाई नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यका उम्मेदवार बनाएको हो। २०४४ सालमा कालीकोट जिल्लाको स्युना गाउँ पञ्चायतको उपप्रधानपञ्चमा उनी विजयी भएका थिए।
२०५४ सालमा साबिक स्युना गाविसमा एमालेबाट वडाध्यक्षमा विजयी उनी २०५३ मा कालीकोट जिल्ला कमिटी सदस्य बने। लुहार हाल एमाले निकट जातीय मोर्चाको जिल्ला अध्यक्ष र कालीकोट जिल्ला कमिटी सदस्य छन्।
राष्ट्रिसभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट ६ नं प्रदेशबाट विजयको खाता खोल्न सफल लुहारले ३ हजार ६६६ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रलाल सार्कीलाई पराजित गरेका थिए।
जनसेनाको कमाण्डर हुँदै राष्ट्रियसभा सदस्य
प्रदेश ६ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित नरहरिनाथ गाउँपालिका–२ कालीकोटका जीवनबहादुर बुढा तत्कालीन नेकपा (माओवादी) जनयुद्धका सेना कमाण्डर हुँदै राष्ट्रियसभाको सदस्यमा चुनिएका छन्।
सानैमा कम्युनिष्ट राजनीतिमा लागेका बुढा २०५२ सालमै पार्टीको सदस्यता प्राप्त गरेका थिए।
२०५३ कात्तिकमा छापामार दलको सदस्य हँदै बुढा माओवादी जनासेनामा भर्ना भए। २०६० सालमा माओवादी जनसेनाका बिग्रेड कमान्डर हुँदै २०६१ को अन्तमा सातौँ डिभिजन सहकमान्डर बने।
शान्ति प्रक्रियासँगै भएको माओवादी सेनाको व्यवस्थापन हुँदा उनले क्यान्टनमेन्टमा सेनाको नेतृत्व गरेका थिए।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा सचिवालयमा रहेर काम गरिसकेका छन्। अहिले नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्य छन् उनी। सेना हुँदाका सबै साथीहरुले समायोजन रोज्दा आफूले राजनीति रोजेको उनले बताए। 'म राजनीति गर्न युद्धमा गएको हो, जागीर खान होइन, त्यसैले मैले सेना समायोजन प्रक्रियालाई अँगालिन,' उनले भने।
शिक्षक जागिर छोडेर राष्ट्रियसभा सदस्य
भेरी नगरपालिका–४ जाजरकोट निवासी कालीबहादुर मल्ल नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य हुन्। २०३४ सालदेखि शिक्षक पेसामा लागेका उनले २०४३ मा जागिर छोडेर राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन सुरु गरेका थिए। २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको सदस्यमा निर्वाचित उनी २०५२ सालदेखि नेकपा (माओवादी) राजनीतिमा होमिए।
२०६४ सालको संविधानसभाको निर्वाचनमा विजयी उनले यस पटक राष्ट्रियसभा निर्वाचनको खुला सदस्यमा जित हात पारे।
जाजरकोट भेरी नगरपालिका–४ निवासी भैरवसुन्दर श्रेष्ठ पनि मावि स्थायी शिक्षकको जागिर छोडेर २०४७ सालमा राजनीतिमा लागेका हुन्। श्रेष्ठ तत्कालीन नेकपा (माले) को संस्थापक जिल्ला संयोजक थिए। निरन्तर पार्टी संगठनको राजनीति गर्दै आएका श्रेष्ठ नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए।
२०४९ मा जिल्ला विकास समिति जाजरकोटको उपसभापति र २०५४ सालमा सभापतिमा निर्वाचित भए उनी। पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्दैगर्दा अनेरास्वयिुबाट राजनीति यात्रा सुरु गरेका उनी यस पटकको राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित हुन सफल भए।
निर्वाचित सदस्य मल्ल र श्रेष्ठ दुवै एउटै वडाका हुन्। २०४९ सालमा जिल्ला विकास समिति जाजरकोटको उपसभापतिमा श्रेष्ठ र सदस्यमा मल्ल निर्वाचित भएका थिए। मितेरी नाताका दुवैले २५ वर्षपछि पुनः एकैसभामा निर्वाचित भएका हुन्।
जिविस उपसभापति हुँदै राष्ट्रियसभा सदस्य
एमालेको विद्यार्थी तथा युवा राजनीतिबाट पार्टी राजनीतिमा आएका ठगेन्द्र पुरी रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका निवासी हुन्। पुरीले एमालेका तर्फबाट २०५४ सालमा जिविस रुकुमको उपसभापतिमा जितेका थिए। पार्टीको तत्कालीन रुकुम जिल्ला कमिटी अध्यक्ष हुँदै निरन्तर राजनीतिमा लागेका उनी राष्ट्रियसभाको खुला सदस्यमा निर्वाचित भए।
कविता बोगटी अदानचुली गाउँपालिका–२ हुम्ला निवासी हुन्। उनी नवलपरासीमा उच्च शिक्षा पढ्दै गर्दा अनेरास्ववियु हुँदै अनेम संघबाट पार्टी राजनीतिमा लागेकी हुन्। हाल उनी एमाले निकट कर्णाली–काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुन्। उनी वाम गठबन्धनका तर्फबाट राष्ट्रियसभाको महिला सदस्यमा निर्वाचित भएकी हुन्।
लामा समुदायबाट पहिलो महिला सदस्य
युटुल तामाङ (लामा) मुगु जिल्लाको कार्मारोङ गाउँपालिका निवासी हुन्। उनी मुगु जिल्लाको लामा समुदायबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पहिलो महिला सदस्य बनेकी छन्।
माओवादी केन्द्र निकट अनेम संघ (क्रान्तिकारी) हुँदै पार्टी राजनीति सुरु गरेकी उनी संघको मुगु जिल्ला अध्यक्ष भएकी थिइन्।
राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी) निकट उनले लामा मुक्ति मोर्चाको सचिवका रुपमा काम गरेकी छन्। २०६४ सालको संविधानसभाको समानुपातिक सदस्यमा निर्वाचित तामाङ हाल नेकपा (माआवादी केन्द्र) को महाधिवेशन आयोजक समिति सदस्य हुन्।
पञ्चायतविरुद्ध लडेकी शर्मा पनि सदस्य
सुर्खेतका ग्रामीण भेकमा तत्कालीन पञ्चायती शासनविरुद्ध भूमिगत संघर्ष गर्दै आएकी नन्दा शर्मा (चपाई) पञ्चपुरी गाउँपालिका–३ सुर्खेत सालकोट निवासी हुन्। उनी वाम गठबन्धनका तर्फबाट राष्ट्रियसभाको महिला सदस्यमा निर्वाचित भइन्।
२०३५/०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा लागेकी शर्मा अनेम संघको जिल्ला अध्यक्ष हुँदै हाल नेकपा (एमाले) ६ नं प्रदेश कमिटी सदस्य तथा अनेम संघको केन्द्रीय सदस्य छिन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।