बार्सिलोना– फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गरेका छन्। काउन्टिन्होले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा भ्यालेन्सिया विरुद्ध गोल गरेका हुन्।
इंग्लिस क्लब लिभरपुलबाट कीर्तिमान १ सय ४२ मिलियन पाउन्डमा बार्सिलोनामा आवद्ध भएपछि ब्राजिलियन मिडफिल्डरले पहिलो गोल गरेका हुन्।
काउटिन्होले खेलको ४९ मिनेटमा गोल गरेपछि बार्सिलोनाले अग्रता लियो। ८२ मिनेटमा राकिटिकले अर्को गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सियालाई २–० ले पराजित गर्न सफल भयो। यसअघि पहिलो लेगमा बर्सिलोना १–० ले विजयी भएको थियो।
अब फाइनलमा बार्सिलोनाले सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ।
बार्सिलोनाले कोपा डेल रेको फाइनलमा लगातार पाँचौ पटक स्थान बनाउँदै इतिहास समेत बनाएको छ। सन् २०१४ यता बार्सिलोनाले लगातार फाइनलमा स्थान बनाएको हो। २०१४ को फाइनलमा रियल म्याड्रिडसँग पराजित भएको बार्सिलोनाले त्यसयताका तीन फानइलमा भने जित निकाल्दै उपाधि उचालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।