काठमाडौं- नुवाकोटको साविकको ककनी गाविस-७ सिम्लेकी ७० वर्षीया वृद्धा पदमकुमारी गुरुङको २०५९ माघ २१ गते हत्या भयो। सिम्लेस्थित स्थानीय लालबहादुर तामाङको मकैबारीमा उनको हत्या भएको थियो। लालबहादुरको छोराका छेवरमा गएकी वृद्धा गुरुङ त्यसदिन घर नफर्किएपछि भोलिपल्ट उनको खोजी भएको थियो।
भोलिपल्ट बिहान गुरुङको शव लालबहादुरकै मकैबारीमा माथिल्लो भागको चोलीमात्रै रहको र तल्लो भाग निर्वस्त्र भएको अवस्थामा फेला परेको थियो।
आमाको हत्या भएपछि उनका छोरा रामबहादुरले अनुसन्धानको माग गर्दै जाहेरी दिएका थिए।
त्यसबेला घटनास्थलमा कालो रंगको पाइन्ट, पाइन्टमा खैरो रंगको छालाको पेटी, हातमा लगाउने नाडी घडीसमेत फेला परेको थियो। उक्त सामान ककनी-७ सिम्लेकै भरत सुनारको भएको भन्दै त्यसबेला सनाखत भएको थियो।
गुरुङको कम्मरमुनिको भाग नांगो हुनु र घटनास्थलमा पुरुषको पाइन्टसमेत फेला पर्नुले बलात्कारपछि हत्या भएको आशंका समेत गरिएको थियो। यद्यपि उक्त कुरा भने अनुसन्धानबाट खुल्न बाँकी छ।
गुरुङको हत्या हुँदा सुनार ४१ वर्षका थिए। अहिले ५८ वर्षका भइसकेका छन्। उनी पछिल्लो समय चितवनको राप्ती नगरपालिका-७ मा बस्दै आएका थिए।
प्रहरीले १७ वर्षपछि सो हत्याकाण्डका अभियुक्तलाई पक्राउ गरेको छ। नुवाकोटको साविकको ककनी गाविस-७ सिम्लेकी ७० वर्षीया वृद्धा पदमकुमारीको हत्यामा संलग्न भएको आरोपमा उनी हत्या भएको १७ वर्षपछि पक्राउ परेका हुन्। पक्राउ पर्नेमा साविक ककनी-७ कै भरत सुनार छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सोमबार चितवनबाट पक्राउ गरेको हो।
तामाङ र गुरुङबीच छेवरमा नाचगानको कार्यक्रममा विवाद भएको थियो। विवादपछि घर फर्कन लाग्दा तामाङले वृद्धा गुरुङको टाउकामा ढुंगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ। हत्यापश्चात् उनी भागेर भारत पुगेका थिए। पछिल्लो समय चितवनमा बस्दै आएका उनी अन्तत प्रहरीको नियन्त्रणमा आएका छन्।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।