काठमाडौं–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नामिबियाको डब्लुएपी मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।
यसअघि यही मैदानमा हिजो भएको खेलमा नेपालले आयोजक नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको थियो। ओमान भने पहिलो खेलमा क्यानडासँग पराजित भएको थियो। ओमानलाई क्यानडाले ८ विकेटले हराएको थियो।
शुक्रबार नै नामिबिया र केन्या तथा युएई र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ।
ओमानसँगको 'हेड टु हेड'मा भने नेपाल अघि छ। नेपाल र ओमानबीच ५० ओभरका ५ खेल मध्ये तीन खेलमा नेपालले जित हात पारेको छ। दुई खेलमा भने ओमान विजयी भएको छ।
पछिल्ला दुवै खेलमा ओमानले नेपाललाई हराएको छ। २०१५ मा भएको पछिल्लो भिडन्तमा नेपाललाई ओमानले ३ विकेटले हराएक थियो। २०१४ को एसिसी प्रिमियर लिगमा पनि ओमानले नेपाललाई २ विकेटले हराएको थियो। नेपालले दिएको १ सय ५८ रनको लक्ष्य ओमानले २.१ ओभर खेल्न बाँकी छदा ८ विकेटले गुमाएको थियो।
त्यसअघिका तीन खेलमा नेपाल विजयी भएको थियो। सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्यो। सन् २०१० मा एसिसी ट्रफी एलिटमा नेपालले ओमानलाई ६ विकेटले हरायो। सन् २०१३ मा भएको डिभिजन–३ मा पनि नेपाल विजयी भयो। नेपालले ओमानलाई २८ रनले हरायो। पहिले ब्याटिङ गरेको नेपालले १ सय ६० रन जोड्यो। जवाफी ब्याटिङ गरेको ओमान १ सय ३२ रनमा अलआउट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।