काठमाडौं– नेकपा एमालेले आज २ वटा प्रदेशको संसदीय दलको नेता टुंगो लगाउँदैछ।
एमालेको स्पष्ट बहुमत रहेको प्रदेश १ र ३ को संसदीय दलको नेता चयन हुन लागेको हो। संसदीय दलको नेता नै भावी मुख्यमन्त्री बन्ने भएकाले दुवै प्रदेशमा आकांक्षी बढी देखिएपछि चुनावी प्रतिस्पर्धाबाट निर्णय लिन खोजिएको हो। यद्यपि नेताहरुबीच सहमतिको प्रयास पनि चलिरहेको छ।
प्रदेश १ मा ३ जना मुख्य आकांक्षी देखिएका छन्। त्यहाँ माधव नेपाल निकटका भीम आचार्य र जीवन घिमिरे तथा केपी ओली निकटका शेरधन राईबाट कोही एक जना छानिनेछन्। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद छन्। नेपाल पक्षधरको बढी सिट देखिए तापनि स्पष्ट बहुमत भने छैन। तर नेपाल पक्षका २ जना नेता नै प्रतिस्पर्धामा रहे राईलाई फाइदा पुग्न सक्छ।
सो दलको बैठक आज विराटनगरस्थित प्रदेशसभा भवनमा ११ बजेको लागि बोलाइएको छ।
प्रदेश ३ मा शाक्य र पाण्डेको प्रतिस्पर्धा
प्रदेश ३ को संसदीय दलको नेता पनि आजै टुंगो लाग्ने भएको छ। यो प्रदेशमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन्।
अहिलेको प्रदेश संसदीय दलको बैठकपछि निर्वाचन गर्ने सहमति बनेको एमाले प्रदेश कमिटीले जनाएको छ। ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा संसदीय दलको बैठक बस्न लागेको हो।
दुवै नेपाल निकट बनेर पार्टी महाधिवेशनमा चुनाव लडेका थिए। तर पाण्डे मुख्यमन्त्री बन्नैका लागि ओली गुटतिर लागेको चर्चा पनि छ। यो प्रदेशमा ओली गुट बलियो देखिन्छ।
सहमतिको प्रयासमा पार्टीले समन्वय गरे प्रदेश १ मा ओली निकट राई र ३ मा नेपाल निकट शाक्य बनाउने प्रयास हुने एमालेका नेताहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।