काठमाडौं- गायक राजेशपायल राईको घरमा आगलागी भएको छ।
सांगीतिक भ्रमणका लागि बेलायत पुगेका बेला उनको काठमाडौं, बानेश्वरस्थित घरमा आगलागी भएको हो।
राजेशका भाइ नवीनका अनुसार विद्युत सर्ट भएर कोठामा आगो लागेको हो। आगलागीबाट कुनै मानविय क्षति नभए पनि महत्वपूर्ण दस्तावेजहरु जलेर खरानी भएको उनले बताएका छन्। राजेश पायलको कोठामा सजाइएका करिअरका महत्वपूर्ण दस्तावेज, अवार्ड, सम्मानपत्र, प्रमाणपत्र र मायाको चिनोहरु जलेका छन्।
राजेश पायलको घरमा आगलागी भएको खबरपछि दुःखी देखिएका फ्यानलाई मध्यनजर गर्दै गायक राईले बेलायतबाट लगातार मर्मस्पर्शी शब्दहरु लेखिरहेका छन्।
‘म पीडामा छैन किनकि तपाईंहरुको आशीर्वाद र मायाको अगाडि यो पीडा, पीडा होइन। मेरो छिमेकीहरुले दर्शाउनुभएको सहयोग, नेपाल प्रहरी, दमकल परिवार सबैप्रति हार्दिक नमन। अवार्ड जले होलान् तर तपाईंहरुले दिएको आशीर्वाद, माया र सुझाव नजलोस्। म सदा तपाईंहरुकै काखमा लुट्पुटिने मान्छे।’

उनले अर्को स्टाटसमा गल्ती, कमीकमजोरी सबैबाट हुने र यसपल्ट भगवानबाट भएको लेखेका छन्।
‘गल्ती, कमी कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट नि हुँदो रहेछ, उनैले दिए उनैले लगे। अब उनैले दिनेछन् एक दिन फेरि गल्ती नगरीकन,’ उनले लेखेका छन्।
यस्तो दुःखद घडीमा पनि आफू घरमा उपस्थित हुन नसकेको कुरासमेत उनले फेसबुकमार्फत लेखेका छन्। ‘यो घडीमा अहिले घरमा आउन सकिनँ, सक्दिनँ पनि, किनभने म सँग पेसा छ अनि बाध्यता पनि। आयोजकसँग अझै (अमेरिका, क्यानडा) दुई महिनाको कार्यक्रमको एग्रिमेन्ट छ,’ उनले लेखेका छन्।
आगलागीको खबरपछि राजेश पायलका फ्यान र कलाकारहरु दुःखी देखिएका छन्। कोठामा थुप्रै प्रमाणपत्र जल्दा पनि राजेश पायलले राजेश हमालसँग खिचेको तस्बिर बचेछ। त्यसैले अभिनेता हमालले फेसबुकमा नजलेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘उहाँको सम्मान जलेको छ तर उहाँको हिम्मत र हाम्रो दोस्ती कहिल्यै जल्दैन।’ (तस्बिर साभार : राजेशको फेसबुक पेज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।