बाग्लुङ- ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको सिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सिकारको लागि नाउर र झारलको सो कोटा छुट्याएको हो।
विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई सिकार अनुमति दिने गरेको छ । छनोटमा पर्ने संस्थाले विदेशी सिकारीलाई असोज दोस्रो सातादेखि सिकार खेलाउने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
‘सिकार वापत बर्सेनि तिनुपर्ने राजश्व घटबढ भइरहन्छ’ उनले भने, 'सिकार खेलाउने संस्थाबीच जति प्रतिस्पर्धा चल्यो, त्यति दर बढ्छ।'
अघिल्लो फागुन र बैशाखमा सिकार गर्न लगाउने संस्थाले हालसम्मकै उच्च एउटा झारल सिकारको १३ लाख पाँच हजार रुपैयाँ र नाउर सिकार वापत आठ लाख ७५ हजार रुपैयाँ तिरेको थियो । साढे दुई वर्षअघि पनि झारल सिकारको दर बढेर नौ लाख ३१ हजार रुपैयाँसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ।
अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिका लगायत मुलुकबाट सिकारी ढोरपाटन पुग्ने गर्छन् । सबैजसो सिकारी हेलिकोप्टर मार्फत नै ढोरपाटन पुग्ने गरेको अधिकृत बरालले बताए।
आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लक’ गरी ६ ब्लकमा सिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लक’मा भने धेरै कम मात्रामा सिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीको कम रोजाइमा सुनदह ‘ब्लक’ पर्ने गरेको छ।
सिकारबाट आरक्ष कार्यालयले बर्सेनि करिब एक करोड रुपैयाँ राजश्व उठाउने गरेको छ । एउटा सिकारीले वन्यजन्तुको सिकारमा रु २५ लाखदेखि ३० लाखसम्म खर्च गर्ने गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।