प्योङयाङ- प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ।
राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले विदेश मन्त्रालयअन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गर्दै भनेको छ, 'अमेरिका-उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन्।'
नाम उल्लेख नगर्ने सर्तमा एक उत्तर कोरियाली अधिकारीले भने, 'निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङयाङले यसबीचमा गरिने पहलहरूलाई स्वागत गर्नेछ।'
उनले भने, 'चेतावनी र तनावलाई अन्त्य गर्दै हाम्रो प्रणाली विकासको सुरक्षा र अवरूद्धताबारे देखिएका आशङ्कालाई हटाएर अघि बढेमा निशस्त्रीकरणबारे वार्ता र छलफललाई अघि बढाउन सकिन्छ।'
यसै वर्षको फेब्रुअरीमा भियतनामको हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ अनबीचको शिखर सम्मेलनले निर्दिष्ट लक्ष्यमा नपुगेपछि अवरूद्ध बनेको वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा थप प्रगति हुन सकेको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।