सेन्ट पिटर्सवर्ग- चीनका प्रधानमन्त्री लि खछ्याङ सोमबार रूसको सेन्ट पिटर्सवर्ग पुगेका छन्। तीन दिने औपचारिक भ्रमणका लागि उनी रुस आएका रुसी परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ।
दुई देशको दौत्य सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसर पारेर उनी रूस भ्रमणका लागि पुगेको बताइएको छ।
चिनियाँ उपविदेशमन्त्री लि युचङले रुस र चीनबीचको सम्बन्धलाई नयाँ युगको रूपमा परिभाषित गरे। उनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुका बीचमा भेटवार्ता हुने जानकारी पनि दिए।
चिनियाँ प्रधानमन्त्री लि र रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेभको भेट चिनियाँ र रूसी सरकार प्रमुखको २४औं बैठकका रूपमा हुन लागेको हो।
प्रधानमन्त्री लिका अनुसार बैठकमा दुई देशका मुख्य उद्देश्यहरुलाई केन्द्रित गरेर छलफल गरिनेछ।
द्विपक्षीय हित, साझा चासो र सहकार्यलाई ध्यानमा राखेर दुई प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ। प्रधानमन्त्रीद्वय ली र मेद्भेदेभले सेन्ट पिटर्सवर्गमा छलफल तथा साझा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्।
चिनियाँ प्रधानमन्त्री लीले रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेट्ने कार्यक्रम रहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।