काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता सिंहले पार्टी सञ्चालनमा नेतृत्व असफल भएको निष्कर्षसहित दलको नेतामा दाबी गरेका छन्।
पार्टीको १२औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्री जितेका सिंह १३औं महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित भएका थिए। पार्टीभित्र नेता रामचन्द्र पौडेलको गुटमा रहेका सिंहले संसदीय दलको नेतामा सके सहमति नभए एक्लै भए पनि अघि बढ्ने तयारी गरेको उनी निकट स्रोत बताउँछ।
प्रजातान्त्रिक दल भनिए पनि कांग्रेसको वर्तमान नेतृत्व आफू विरोधीको अस्तित्व नै मेट्नेगरी अघि बढेको भन्दै आफू अघि बढ्ने निर्णय गरेको नेता सिंहले बताउने गरेका छन्।
निर्वाचनपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सिंहले नेतृत्वका कारण पार्टीले चुनाव हारेको भन्दै पार्टी सभापति देउवाको चर्को आलोचना गरेका थिए।
सिंहले पछिल्लो समय कांग्रेस विधानसम्मत र संस्थागत रुपमा चल्नुपर्ने भन्दै पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।