लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ।
बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले सोमबार दिएको जानकारी अनुसार उनीहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। प्रधानमन्त्रीको कार्यालयले भनेको छ, 'ब्रेजिक्टसम्बन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि दैनिक छलफल गर्नुपर्नेमा नेताहरु सहमत हुनुभएको छ।'
लक्जेम्वर्गमा दुई नेताहरूको प्रत्यक्ष भेटवार्तापछि प्रधानमन्त्री कार्यालयले उनीहरूको भेटवार्ताका बारेमा जानकारी दिएको हो। प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले जारी गरेको वक्तव्यमा जोन्सन र यङ्करकोे बैठक 'सकारात्मक' भएको उल्लेख गरिएको छ। बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयका विभिन्न पक्षका बारेमा उनीहरूले छलफल गरेका कार्यालयले जनाएको छ।
ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप जोन्सनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गरेका हुन्। जोन्सनको यो भेटलाई कतिपयले परामर्श बैठकका रूपमा पनि लिएका छन्। उक्त भेटमा आफूहरूले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिनसक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोन्सनले अध्यक्ष यङ्करलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री जोन्सनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, 'म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिनेछ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ।'
युरोपियन युनियनको संसद्ले भने आगामी हप्ता यस विषयमा मतदान गराउने तयारी गरेको छ। यसैबीचमा प्रधानमन्त्री जोन्सनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्नेछ। बेलायतको संसद्मा अधिकांश सांसद ब्रेक्जिटको विपक्षमा रहेकाले उनको पक्षमा जनमत आउने सम्भावना न्यून देखिएको छ।
बेलायत र युरोपका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री जोन्सनलाई बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने काम पूरा गर्न निकै कठिन देखिएको उल्लेख गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।