काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियाले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गरेको छ।
नेपालले सुरुवाती ८ विकेट गुमाइसकेको छ। ओपनिङ ब्याट्सम्यान दिलीप नाथ शून्य रनमा आउट हुँदा कप्तान पारस १९ रनमा आउट भए। पारसले ३५ बलमा २ चौका हिर्काए।
ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए। उनले ४५ बल खेलेर १ चौका प्रहार गर्न सके। आरिफ शेख शून्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ६ रनमै पेभिलियन फर्के। करण केसीले पनि ३ भन्दा बढी रन जोड्न सकेनन्।
आसा गरिएका ब्याट्सम्यान शरद भेषावकर २९ रनमा आउट भएका थिए। उनले ६७ बलमा ३ चौका प्रहार गरे। रोहिकुमार पौडेल पनि १७ रन बनाएर खेलिरहदा स्कोल्सको एलबिडब्लुको धरापमा परेपछि नेपालको आसा सकिएको थियो।
अहिले बसन्त रेग्मी ३ रन र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका छन्।
नेपालले ४३ ओभरमा १११ रन जोड्दा ८ विकेट गुमाएर खेलिरहदा खेल वर्षाले रोकिएको हो।
बलिङतर्फ नामिबियाका बिएम स्कोल्जले ४ विकेट र क्रियाग विलियम्सले २ विकेट हात पारेका छन्।
त्यसअघि एब्लुएपी मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।
बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट हात पारे। सन्दीपले ८.२ ओभरमा १८ रन खर्चिँदा २ मेडन राखे। सोमपालले ७ ओभरमा ३५ दिए भने १ मेडन फ्याँक्न सफल भए।
नेपालका लागि सरद भेषावकर,कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट आफ्नो नाममा लेखाए।
सन्दीपले महत्वपूर्ण विकेट लिने क्रममा नामिबियाका क्रियाग विलियम्सलाई ४१ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परेका थिए। विलियम्सले नामिबियाका लागि सबैभन्दा बढी रन जोड्ने क्रममा ३४ बल खेलेर ८ चौका प्रहार गरे। यस्तै, सन्दीपले सारेल वर्गरलाई पनि शून्य रनमा एलबिडब्लुकै सिकार बनाए। सन्दीपले बेर्नान्ड स्कोल्सलाई १ रनमा पारसबाट क्याच गराए। सन्दीपले अन्तिम विकेटको रुपमा जेजे स्मिथलाई १८ रनमा कप्तान पारसबाटै क्याच गराएका थिए।
कप्तान पारस खड्काले इरासमसलाई शून्य रनमा बोल्ड गरेका थिए। शरदले जेएन फ्लाइलिंकलाई २२ रन बनाएर खेलिरहँदा विकेटकिपर दिलीप नाथबाट क्याच गराए। बसन्तले जेपी कट्जेलाई ९ रनमा आउट गरे।
सोमपालले सुरुवाती ३ विकेट लिए। सोमपालले पहिलो ओभरमा एलपी भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै, उनले पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। सोमपालले तेस्रो नम्बरमा ब्याटिङ गरेका जान ग्रिनलाई २२ रनमा बनाएर खेलिरहँदा बोल्ड गर्न सफल भए।
डिभिजन–२ मा नेपाल र नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।