त्रिपोली- लिवियाली प्रधानमन्त्री फायेज सेर्राजले लिवियाली सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाहरुबीच सहयोग र समन्वयका लागि आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको सहयोगमा प्रधानमन्त्री बनेका उनले लिवियाली सरकार र अन्तर्राष्ट्रिय संगठनहरुबीचको सहयोग र समन्वयले यहाँको विकास र स्थायित्वमा सहयोग पुग्ने अपेक्षा गरेको बताए।
लिवियाको अवस्था अहिले पनि शान्त र स्थिर नरहेको भन्दै उनले लिवियाका लागि संयुक्त राष्ट्रसंघको सहयोग र उसका मिसनहरुको समन्वय पनि आवश्यक रहेको धारणा राखे।
लिवियाको राजनीतिक र आर्थिक अवस्थाको विकासमा संयुक्त राष्ट्रसंघको भूमिकाको विषयमा यसै हप्ता राजधानी त्रिपोलीमा राष्ट्रसंघीय विशेष प्रतिनिधिसँग प्रधानमन्त्री सेर्राजले छलफल गरेका थिए।
सो छलफलपछि लिवियाका नागरिकका लागि संचालित योजनाहरुमा सहयोग गर्ने तथा जारी द्वन्द्व र कठिनाइहरुलाई कम गर्ने बारेमा गृहकार्य गर्ने पनि सहमती भएको प्रधानमन्त्रीको सञ्चार कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
लिवियामा सन् २०११ मा तत्कालीन राष्ट्रपति मुअमर गद्दाफी अपदस्थ भएयता विभिन्न समूहमा विभाजित राजनीतिका कारण अस्थिरता उत्पन्न भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।