सिओल- उत्तर कोरियाली उच्च स्तरिय प्रतिनिधिमन्डलले दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ–इनसँग भेटवार्ता हुने भएको छ।
भेटवार्ता आगामि शनिबारका लागि तय भएको दक्षिणको राष्ट्रपति कार्यालय ब्लु हाउसलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन्।
भोलिदेखि सुरु हुने शितकालीन ओलम्पिकका लागि उत्तरले संवैधानिक संसद प्रमुख किम योङ नामको नेतृत्वमा उच्च स्तरिय प्रतिनिधिमन्डल दक्षिण पठाउँदै छ। सो प्रतिनिधिमन्डलमा उत्तर कोरियाली नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङ पनि सहभागी हुने बताइएको छ।
उत्तरको सो उच्च स्तरिय प्रतिनिधिमन्डल भोलि विमानमार्फत दक्षिण कोरिया पुग्दैछ। उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रबार शुरु भई आइतबार सम्पन्न हुनेछ। सो प्रतिनिधिमण्डलमा अन्य ३ उच्च सरकारी अधिकारीसहित १८ जना सहयोगी कर्मचारी संलग्न हुने दक्षिण कोरियाली एकता मन्त्रालयले जानकारी दिएको छ।
उता ओलम्पिक उद्घाटन सत्रमा सहभागी हुने उत्तरका अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई भने उत्तर कोरियाले अस्विकार गरेको छ।
उत्तरको ओलम्पिकमा हुन लागेको सहभागिताले द्विपक्षिय तनावलाई मत्थर गर्ने आशा गरिएको छ। तर कतिपय विज्ञहरुले भने यो कार्यले उत्तर कोरियाको आणविक कार्यक्रममा कुनै पनि प्रभाव नपार्ने आंकलन गरिरहेका छन्।
त्यसैले यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन्। यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना देखिएको थियो।
तर सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ। उत्तर कोरियाको विदेश मन्त्रालयलाई उदृत गर्दै सरकारी समाचार एजेन्सी केसिएनएले लेखेको छ,‘उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ।’
ओलम्पिक खेलकुदको उद्घाटन सत्रमा सहभागी हुन अमेरिकाको तर्फबाट उपराष्ट्रपति माइक पेन्स दक्षिण कोरिया पुग्दैछन्। पछिल्लो समयमा शत्रु राष्ट्रका रुपमा चिनिएका उत्तर कोरिया र अमेरिकाका यी दुवै उच्च अधिकारीहरु एकै मञ्चमा उभिनुलाई फरक अर्थमा हेरिएको छ। कतिपयले यो मञ्चलाई सम्बन्ध सुधारको सुरुवातको रुपमा समेत लिएका छन्।
ओलम्पिकको उद्घाटन सत्रमा दुवै कोरियाले संयुक्त झण्डामुनि मार्चपास गर्नेछन्।
२ सय ८० भन्दा बढि सदस्य रहने उत्तर कोरियाली प्रतिनिधी मण्डलमध्ये खेलाडी, चेयरलिडर, सांस्कृतिक टोलीलगायतको एक समूह भने बुधबार बिहान दक्षिण कोरिया पुगिसकेको छ।
ओलम्पिक खेलकुद भोलिबाट सुरु भई फेबु्अरी २५ सम्म दक्षिण कोरियाको प्योङच्याङमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।