क्यानबेरा- अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुलले यौन उत्पीडनको सिकार भएका सम्पुर्ण बालबालिकाहरुप्रति ‘राष्ट्रिय माफी’ मागेका छन्।
पछिल्लो ४ वर्षको अध्ययनपश्चात् अस्ट्रेलियाका विभिन्न सरकारी संस्था तथा अंगहरुमा दशौँ हजारकोे संख्यामा बालबालिकामाथि यौन दुव्र्यवहार भएको एक तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री टर्नबुलले ‘राष्ट्रिय माफी’ मागेका हुन्।
अध्ययनले चर्च, विद्यालय, खेलकुद क्लबलगायतका संरकारी संस्थाहरुमा वर्षौँदेखि यौन दुव्र्यवहारजन्य अपराध हुँदै आएको बताएको छ।
बिहिबार अस्ट्रेलियाली संसदलाई सम्बोधन गर्दै टर्नबुलले भने,‘हामीले राष्ट्रिय रुपमै यो समयलाई यस्तो रुपमा विकसित गर्नुछ जसले जीवित व्यक्तिको इच्छालाई दर्शाउँछ, उनीहरुको सम्मान दिन्छ र उनीहरुले आफूलाई उही बाल्यकालकै रुपमा पाउन सक्छन्।’
प्रधानमन्त्री टर्नबुलले सम्बोधनका क्रममा बालबालिकाहरुलाई जसको सहारामा राखिएको थियो, उनीहरुबाट नै सहयोग प्राप्त नभएकोमा दुःख प्रकट गरे।
आगामि डिसेम्बरमा कार्यकाल सकिने शाही जाँचबुझ आयोगले करिब ४ सयभन्दा बढी सुझावहरु तयार पारेको छ। जसमा अस्ट्रेलियामा रहेका क्याथोलिक चर्चमा लागु गरिएका नियमहरुको पुनरावलोकनको समेत सुझाव समेटिएको छ।
‘यो समस्या हामीमाझ रहेका केहि ‘कुहिएका स्याउ’हरुसँग मात्रै जोडिएको छैन। समाजमा रहेका सबै मुख्य सरकारी संस्थानहरु यो विषयमा विफल भइसकेका छन्।,’ उनले भने।
सरकारले राष्ट्रिय माफीमा के–कस्ता विषयवस्तुहरु समेटिनुपर्छ भन्ने सम्बन्धमा दुव्र्यवहारमा परेका पीडितहरुसँग पनि परामर्श गर्ने उनले बताए।
उनले राज्यका सबै अंग तथा संस्थानहरुलाई पीडितका लागि ल्याइने राष्ट्रिय सुधार योजनामा सामेल हुन समेत निर्देशन दिएका छन्। सो सुधार योजना आगामि वर्षबाट मात्र लागु हुनेछ।
प्रधानमन्त्री टर्नबुलले भने,‘हामीले जीवित रहेका बाँकि पीडितहरुका लागि यो समय बर्बाद गर्ने छैनौँ।’
सरकारले यसअघि नै प्रत्येक पीडितका लागि १ लाख ५० हजार अस्ट्रेलीयन डलर दिने गरि कुल ३० मिलियन अस्ट्रेलीयन डलर बराबरको राहत प्याकेजको घोषणा गरिसकेको छ। प्याकेजअन्तर्गत परामर्श तथा अन्य सेवासमेत सामेल छन्।
अस्ट्रेलियामा हालसम्म ८ हजारभन्दा बढी यौन दुव्र्यवहारका घटनाको अनुसन्धान भइसकेको छ। तर धेरै पीडितहरु अझै पनि अनुसन्धानको दायरामा आउन नसकेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।