काठमाडौं- सोमबार प्रदेश- २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त वैकल्पिक व्यवस्था गरेको छ।
मतदाताले कुनै कारणवश तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।
आयोगका अनुसार, नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ।
मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार बनाएर मतदान गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले सम्बन्धित सबैलाई जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।