काठमाडौं- म्याग्दीस्थित बेनी नगरपालिका-५ स्थित बगुवाखोला नजिक अज्ञात समूहले तीन स्काभेटरमा भएको आगजनीप्रति नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ।
निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बिएन कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो।
देश निर्माणमा होमिएका व्यवसायीहरुलाई आतंकित पारी पेशाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा ल्याई आवश्यक कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले माग गरेको हो।
‘व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटकपटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो,’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
देशभरका निर्माण व्यवसायीहरु वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न विभिन्न प्रतिकूलताका बीच कार्य क्षेत्रमा खटिएको विज्ञप्तिमा भनिएको छ।
'पूर्ण व्यवसायीमैत्री कानून तथा निर्माण सामाग्रीको अभाव, महंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाईलगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायीहरु कार्य क्षेत्रमा खटिएका छन्। यस्तो अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरबाही देखिएको छ,' महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा सशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघको विज्ञप्तिमा उल्लेख छ।
भविष्यमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि महासंघले सरकार समक्ष अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।