काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसद्को प्रतिष्ठा अपेक्षाअनुसार कायम हुन नसकेको बताएकी छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै समितिमा मन्त्रीहरूको अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको पर्याप्त जवाफ नपाइने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिन्। सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाफ नआएको बताइन्।
दुई तिहाइको जनादेशसहित गठन भएको सरकारले पुरानै बजेटलाई सामान्य परिमार्जन मात्र गरेको जस्तो देखिएको टिप्पणी गरिन्। स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रका बजेट सहर केन्द्रित भएको भन्दै ग्रामीण तथा दुर्गम क्षेत्रका आवश्यकतालाई पर्याप्त सम्बोधन गर्न नसकेको बताइन्।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवार भएको बताइन्। उक्त अभिव्यक्ति आवेगमा आएको हो वा होइन भन्नेबारे मन्त्रीसँग प्रत्यक्ष रूपमा स्पष्टीकरण लिन चाहेको उनले बताइन्।
उनले भनिन्, ‘उहाँको गैर जिम्मेवारी अभिव्यक्ति आएको छ। ठेकेदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर कानुन सम्मत अगाडि बढ्ने हो कि? एकैचोटि भौतिक कारबाही गर्छु भन्ने? यो किन बोल्नुभयो? अस्ति एकथरीले प्रधानमन्त्रीको टङ स्लिप भएको भन्नुभएको छ। उहाँको पनि त्यस्तै हो कि?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।