काठमाडौं- चालु आर्थिक वर्षमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ।
४६ हजार ८ सय ९५ मध्ये चार हजार ८ सय १२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार, ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो।
निजामती किताबखानाले कर्मचारीको सम्पत्ति विवरण बुझाउन गत भदौ २८ गतेसम्म समय तोकेको थियो । अघिल्लो आर्थिक वर्षमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए।
किताबखानामा आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।
किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय दिएको सूचना अधिकारी पराजुलीले बताए । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरिन्छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।