केप टाउन– दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजमा भारतले लगातार तेस्रो खेलमा जित हात पारेको छ। भारतले तेस्रो खेलमा दक्षिण अफ्रिकालाई १ सय २४ रनले पराजित गरेको हो। जितसँगै भारतले ६ खेलको सिरिजमा ३–० को अग्रता लियो।
दक्षिण अफ्रिका घरेलु मैदानमा खेलिएको एकदिवसीय सिरिजमा लगातार तीन खेलमा पराजित भएको यो पहिलो पटक हो। तेस्रो टेस्टमा पनि पराजित भएको दक्षिण अफ्रिका पछिल्ला चार खेलमा पराजित भइसकेको छ।
बुधबार राति भएको खेलमा भारतले दिएको ३ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४० ओभरमा १ सय ७९ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले सवैभन्दा बढी ५१ रन जोडे। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदिप यादव र युजभेन्द्र चाहलले ४–४ विकेट लिन सफल भए। जसप्रित बुमराहले २ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर ३ सय ३ रन जोड्यो। भारतका लागि कप्तान विराट कोहलीले नटआउट १ सय ६० रन जोडे। उनको यो एकदिवसीय खेलमा ३४ औं शतक हो भने समग्रमा ५५ औं शतक हो। उनी खेलको म्यान अफ दि म्याच घोषित भए। भारतक लागि शिखर धवनको ७६ रन पनि महत्वपूर्ण सावित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।