सिओल- शितकालिन ओलम्पिकको अघिल्लो दिन उत्तर कोरियाले आयोजना गर्ने भनिएको सैन्य परेड स्थगित भएको छ। ७०औँ सेना दिवशको अवसरमा आज आयोजना गरिने बताइएको सो सैन्य परेडलाई उत्तर कोरियाले स्थगित गरेको हो।
प्योङयाङले आफ्नो वार्षिक सैन्य परेड पछिल्लो ४० वर्ष यता आफ्नो सैन्य बलको स्थापनाको अवसरमा अप्रिल २५ मा गर्दै आएको थियो।
उत्तर कोरियाको मुख्य सैन्य बल 'कोरियन पिपुल्स आर्मी'को स्थापना सन् १९४८ फेब्रुअरी ८ मा भएको थियो।
सोहि कारण वर्षको सुरुवातमै उत्तरका राज्य संचालित मिडियाहरुले यस पटक स्थापनाको ७०औँ वर्षगाँठलाई भव्य रुपमा सम्पन्न गर्न फेब्रअरी ८ मा सैन्य दिवश मनाइने बताएका थिए।
शितकालिन ओलम्पिकको ठिक एक दिन अघि सैन्य परेड आयोजना हुने समाचार बाहिरिएपछि उत्तर कोरियाको आलोचना हुँदै आएको थियो। यो घोषणासँगै उत्तरले ती सबै आलोचनाहरुलाई मत्थर पारिदिएको छ। उसले कसैलाई पनि उत्तरका आन्तरिक मामिलामा प्रश्न उठाउने अधिकार नभएको बताएको सत्तारुढ श्रमिक पार्टीसमर्थित समाचार पत्र 'रोडोङ सिनमुन'ले लेखेको छ।
रोडोङ सिनमुनमा लेखिएको छ, ‘यो एक सामान्य ज्ञान हो कि संसारका जुनसुकै राष्ट्रले पनि आफ्नो राष्ट्रिय सेनाको स्थापना दिवश निकै गम्भिर र भव्य तवरबाट मनाउने गर्दछन्। यो घटना प्रत्येक राष्ट्रको लागि निकै महत्वपूर्ण हुने गर्दछ।’
तर अमेरिकाले भने उत्तरको सो कदमको विराध गर्दै आएको थियो। अमेरिकाले सैन्य परेडमा व्यस्त हुनुभन्दा यो समय खेलमा केन्द्रित हुनुपर्ने समय भएको जिकिर गर्दै आएको छ।
विशेषज्ञहरुका अनुसार आजको दिन उत्तर कोरिया आफ्नो लामो दुरीको क्षेप्यास्त्र प्रक्षेपणको तयारीमा रहेको आशंका गरिएको थियो।
उता दक्षिण कोरियाका सरकारी अधिकारीहरुले सैन्य परेडको तयारीका लागि उत्तरले प्योङयाङको विमानस्थलमा करिव २ सय हातहतियार तथा १३ हजार सेना तैनाथ गरेको बताएका थिए।
बुसान विश्वविद्यालयका प्रोफेसर रोवर्ट केलीले उत्तर कोरियाको यो फैसला राजनीतिबाट प्रेरित भएका बताएका छन्।
तर ओलम्पिकको मुख्य आयोजक प्योङच्याङ ओलम्पिक कमिटीले भने उत्तरको सैन्य परेडले ओलम्पिक खेलको ‘भव्यता र गतिशीलता’लाई कुनै असर नगर्ने बताउँदै आएको थियो।
प्योङच्याङ ओलम्पिक कमिटीका प्रमुख ली हे–बिओमले भने,‘उत्तर कोरियासहित संयुक्त राष्ट्र संघमा आवद्ध सबै १ सय ९३ मुलुकले ओलम्पिकको समर्थन गरेका छन्, जो भोलिबाट दक्षिण कोरियाली शहर प्योङच्याङमा सुरु हुँदैछ।’
सामान्यतया शितकालिन ओलम्पिक तथा पाराओलम्पिकको उद्घाटन तथा समापनको एक साता अघिदेखि एक साता पछिसम्म युद्धविराम गर्न संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरुलाई आग्रह गर्ने गर्दछ।
भोलिबाट सुरु हुने शितकालिन ओलम्पिक फेब्रुअरी २५ सम्म चल्नेछ। (बिबिसीबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।