नयाँ दिल्ली– भारतको सर्वोच्च अदालतले स्थायी विकासको नाममा वन जंगल रहेको क्षेत्र नष्ट गर्न नसकिने व्याख्या गरेको छ।
गोवा सरकारविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको एक मुद्दामा सर्वाेच्चले आफू स्थायी विकासको पक्षमा भएको तर त्यसको बहानामा वन क्षेत्र नष्ट गर्ने वा विनाश गर्ने पक्षमा नरहेको भनेको हो।
शुक्रबार गोवा सरकारलाई स्थायी विकासको नाममा वन सम्पदाको नष्ट गर्न सकिँदैन भन्दै अदालतले यस्तो आदेश गरेको हो।
अदालतको यो आदेशपछि स्थायी विकासको ठूलो विकास वन हो भन्ने बहस भारतमा सुरु भएको छ।
न्यायाधीश अरुण मिश्र र दीपक गुप्ताको इजलासले सोलिसिटर जनरल तुषार मेहत्तासँग आफूहरु स्थायी विकासको पक्षमा रहेको भन्दै यस्तो आदेश गरेको हो।
‘अदालत सधैं स्थायी विकासका लागि सरकारको पक्षमा छौं,’ आदेशमा भनिएको छ, ‘तर यसको मतलब यो होइन कि तपाईंले वन क्षेत्र नष्ट आफू अनुकुल गर्न सक्नुहुन्न।’ गोवामा करिब ६२ प्रतिशत वन क्षेत्र रहेको छ।
‘के तपाईंलाई यसको नष्ट गर्ने अधिकार दिन्छ त?’ इजलासले जनरल मेहत्तालाई भनेको छ, ‘तपाईं खुसी हुनुपर्छ कि तपाईंसँग यति धेरै वन क्षेत्र छ। हाम्रो अनुरोध छ यसलाई नष्ट नगरौं, बचाएर राखौं।’
मेहत्ताले अदालतमा वन क्षेत्र नष्ट नगर्ने पक्षमा आफू पुगेको बताए। उक्त क्षेत्रमा रुखहरु काट्ने अनुमति अब नमाग्नेसमेत उनले प्रतिबद्धता जनाए।
उच्च अदालतले २०१५ मा एक मुद्दामा निर्देशनात्मक आदेश जारी गरेको थियो। गोवाका प्राधिकारीलाई कुनै एक क्षेत्र परिवर्तन गर्न वनस्पति वा घना वृक्ष काट्ने अनुमति नदिनू भनेको थियो।
तर मेहत्ताले इजलासमा यसरी कुनै पनि क्षेत्रमा विकास गर्नका लागि आवश्यक भएका केही रुखहरु काट्नुपर्ने अवस्था भए पनि अनुमति नपाए विकास रोकिने तर्क गरेका थिए।
उनको यो जवाफपछि इजलासले उनलाई प्रतिप्रश्न गरेको थियो, ‘कस्तो विकास, के तपाईं गोवालाई बर्बाद गर्न चाहानुहुन्छ?, हिजो मात्रै हामीले पचमढी (मध्य प्रदेशमा) मा यसरी नै वन विनाश भएको सुनेका थियौं।’
इजलासले अदालतको आदेशमार्फत वन विनाश भएको तर्फ पनि जनरल मेहत्ताको ध्यानाकर्षण गरायो।
‘यदि तपाईं कुनै परियोजना विशेषका लागि आउनुभएको हो भने हामी यसको विरुद्धमा छैनौं,’ आदेशमा भनिएको छ, ‘हामी त्यस्तो राजनीतिज्ञको विरुद्धमा छौं जो हाम्रो आदेश आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको हुन्छ।’ द वायरबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।