उर्लाबारी (मोरङ)- मोरङमा भएको छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ।
विराटनगर–१ महेशपुर बस्ने १६ वर्षीय गौरव खवासको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
स्थानीय सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका खवासलाई उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यस्तै, मोरङकै विराटनगर–२ सोमबारेमा नुहाउने क्रममा लडेर एक बालिकाको मृत्यु भएको छ। रंगेली नगरपालिका–८ घर भई विराटनगर–२ सोमबारेस्थित आशा राउतको घरमा डेरा गरी बस्ने मनिता मण्डलकी ९ वर्षीया छोरी हेमा मण्डल ट्युबवेलमा चिप्लिएर बेहोस भएकी थिइन्। उनलाई उपचारका लागि कोसी अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङको ग्रामथान गाउँपालिका–२ स्थित भित्रि सडकखण्डमा केही दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा शनिबार मृत्यु भएको छ।
मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–२ बस्ने ६० वर्षीया गेरी माझी रहेकी मोरङका प्रहरी नायब उपरीक्षक विश्वहरि कोइरालाले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।