लन्डन- संसद्को कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रोपटक विफल पारिदिएका छन्।
प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै संसद्मा मतदानका लागि प्रस्ताव गरेका थिए।
सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २ सय ९३ जना सांसदले मतदान गरेका थिए। हाउस अफ कमन्सका ६ सय ५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४ सय सांसदले पक्षमा मतदान गर्नु आवश्यक रहेको थियो।
संसद् निलम्बन गर्नुअघि संसद्मा भएको बहसमा बिना कुनै सहमति युरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए।
प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अक्टोबर ३१ मा युरोपेली संघबाट बिना सम्झौता बाहिरिने सर्त राखेका थिए। रासस/सिन्हवा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।