इराकी सिया प्रार्थनास्थलमा भागदौड मच्चिँदा ३१ को मृत्यु, कम्तीमा १ सय घाइते

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 ०६:२५:०० मा प्रकाशित

बगदाद- इराकी सहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको इराकी अधिकारीले जनाएका छन्। उक्त घटनामा भागदौडका क्रममा कम्तीमा १ सय जना घाइते भएका छन्।

'सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बगदादबाट करिब १ सय किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको मृत्यु भएको छ भने कम्तीमा १ सय जना घाइते भएका प्रारम्भिक जानकारी आएको छ,' इराकी प्रहरीलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैयफ अल–बादरले बताए।

घटनास्थलबाट केही धर्मावलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको छ। घटनामा मृत्यु हुनेको सङ्ख्या केही बढ्नसक्ने पनि प्रवक्ता बादरले आँकलन गरे।

कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक वर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन्। कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो। रासस/एएफपी