धनगढी– धनगढी प्रीमिएर लिग (डिपिएल)को दोस्रो संस्करणका लागि ट्यालेन्ट हन्टबाट स्थानीय खेलाडी छनोट गरिएको छ। डिपिएलमा सुदुरपश्चिमका खेलाडीहरुलाइ प्रत्येक टिममा स्थान दिने उद्देश्यले आयोजना गरिएको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनोट गरिएको हो।
ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीमा प्रकाश जैशी,नारायण जोशी, सुबोध ऐर, विजय राना, लोकेश बम र बिक्रम ठगुन्ना छन।
यस्तै, किरण कुमार आग्री, बसन्त सिंह कार्की, शेर मल्ल, पूर्णसिंह ठलुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनोट भएका छन।
ट्यालेन्ट हन्टबाट छनोट गरिएका १२ जना मध्ये कम्तीमा पनि ६ जना खेलाडीले आउँदो चैत १७ गतेबाट धनगढीमा सुरु हुने डिपिएल खेल्न पाउनेछन।
१०० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरिएको हो।
छनोट भएका १२ जनालाइ डिपिएलको अक्सनको "डी" क्याटागोरिमा राखिनेछ, जसबाट प्रत्येक टिमले न्युनतम २५ हजारदेखि अघिकतम ४० हजारसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तीमा पनि एउटा खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्राबधान छ ।राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापामगरले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीको छनोट गरेका हुन्।
डिपिएलमा देशका विभिन्न ६ शहरले प्रतिस्पर्धा गर्दै छन्। प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ।
चैत १७ देखि बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए।
जसमा पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी छन्। त्यस्तै, चौराहाका सोमपाल कामी, अत्तरियाका दीपेन्द्रसिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल र विराटनगरका पारस खड्का छन्।
उक्त प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले १० हजार रुपैयाँ र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउनेछन्। त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।