लन्डन– इंग्लिस प्रिमियर लिगमा चेल्सीले २३ वर्ष यताकै खराब प्रदर्शन गरेको छ। गएराति वाटफोर्डसँग ४–१ ले पराजय भोगेसँगै चेल्सी पछिल्ला लगातार २ खेलमा ३ गोल बढी अन्तरमा हारेको हो।
खेलको ३० मिनेटमा १० खेलाडीमा सीमित भएको चेल्सी त्यसपछि दबाबमा आएको थियो। टिइमेउ माकायोकोलाई रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
४२ मिनेटमा वाटफोर्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लियो। ८२ मिनेटमा इडिन हजार्डले बराबरी गोल फर्काए। तर वाटफोर्डले अन्तिम ६ मिनेटमा ३ गोल गर्न सफल भयो। वाटफोर्डका लागि ८४ मिनेटमा जनमत, ८८ मिनेटमा डोउलोफेउ तथा इन्जुरी टाइकको पहिलो मिनेटमा पेरेयाले गोल गरेका थिए।
लिगको पछिल्लो खेलमा चेल्सीलाई वार्नमाउथले ३–० ले हराएको थियो। यसअघि सन् १९९५ चेल्सीले लगातार ३ खेलमा ३ गोल बढी अन्तरमा हार ब्यहोरेको थियो। त्यसपछि चेल्सीले लगातार २ खेलमा ३ गोल अन्तरमा हार ब्यहोरेको यो पहिलो पटक हो।
यता वाटफोर्डले भने चेल्सीले सन् १९९९ पछि पहिलो पटक पराजित गरेको छ।
लिगमा लिगमा २६ खेलबाट ६९ अंक जोड्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५६ र तेस्रो स्थानको लिभरपुलको ५१ अंक छ। चौथो स्थानको चेल्सीको ५० तथा पाँचौ स्थानको टोटनह्यामको ४९ अंक छ। छैटौं स्थानको आर्सनलको ४५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।