काठमाडौं- धनगढी प्रिमियर लिग क्रिकेट (डिपिएल)को ट्यालेन्ट हन्ट सोमबार सम्पन्न भएको छ। ट्यालेन्ट हन्टबाट छनोटमा परेका ६ जना खेलाडीले मात्र आगामी चैत १७ गतेबाट सुरु हुने डिपिएल खेल्न पाउनेछन्।
सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उद्देश्यले आयोजित ट्यालेन्ट हन्टमा एक सयभन्दा बढी खेलाडीको सहभागिता थियो।
आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गर्ने र तिनलाई डिपिएलको अक्सनको ‘डी’ समूहमा राखिने बताए। जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजारदेखि अधिकतम ४० हजारसम्म भाउ लगाउँदै एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान राखिएको छ।
राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मूल्यांकन गरेका थिए। मूल्यांकन सोमबार साझमात्रै सम्पन्न हुने र मंगलबार छनोटमा परेका खेलाडीको नाम सार्वजनिक गरिने शाहीले बताए।
डिपिएलमा देशका विभिन्न ६ शहरले प्रतिस्पर्धा गर्दै छन्। प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनीतिक खेलाडी, दुई विदेशी तथा एक जना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।