नयाँदिल्ली- पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आइसल्यान्ड यात्राका लागि आफ्नो देशको हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेको छ।
शनिबार आइसल्यान्डतर्फ उड्नका लागि भारतले पाकिस्तानसँग हवाई क्षेत्रको अनुमति मागेको थियो। राष्ट्रपति कोविन्द सोमबार आइसल्यान्ड, स्विजरल्यान्ड र स्लोभानियाको यात्रामा जाँदै छन्।
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले सरकारी सञ्चार माध्यम पिटिभीसँग कुराकानी गर्दै काश्मीरमा तनावपूर्ण अवस्थाको मध्यनजर गरी प्रधानमन्त्री इमरान खानले यस्तो निर्णय लिएको बताएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले राष्ट्रपतिको आइसल्यान्ड भ्रमणका लागि पाकिस्तानले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिनु दुखद् भएको बताए।
'भिभिआइपी विशेष विमान आफ्नो देशको हवाई क्षेत्रबाट जान नदिने पाकिस्तान सरकारको निर्णय दुखद् छ,’ कुमारले भने, ‘सामान्यतया कुनै पनि देशद्वारा यस्तो भ्रमणका लागि अनुमति दिइने गरिन्छ।’
भारतका तर्फबाट जम्मु काश्मीरको विशेषाधिकार अन्त्य गर्ने निर्णयपछि प्रधानमन्त्री इमरान खान केही मन्त्रीको दबाबमा रहेको उनले बताए।
अहिलेसम्म पाकिस्तानले हवाई क्षेत्र पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छैन। तर राष्ट्रपति कोविन्दको विमानलाई अनुमति नदिएर उसले आफ्नो मनसाय भने जानकारी गराएको कुमारले बताए।
पाकिस्तानी विदेशमन्त्री कुरेसीले नयाँदिल्लीले काश्मीरप्रति देखाएको रुखो व्यवहारलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा लैजाने बताएका छन्।
भारतीय वायुसेनाका लडाकुहरुले बालकोटमा आतंकवादी शिविर रहेको दाबी गर्दै बम वर्षाएपछि पाकिस्तानले गत फ्रेब्रअरीमा हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो।
तर २७ मार्चमा उसले नयाँदिल्ली, बैंकक र क्वालालम्पुर जाने उडानलाई छोडेर अन्यलाई खुल्ला गरिदिएको थियो। भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि भारत पाकिस्तान आपसी विवादमा उत्रेका छन्।
पाकिस्तानले हरेक अन्तराष्ट्रिय मञ्चमा यो मुद्दा उठाउने प्रयास गर्दै आएको छ भने भारतले आन्तरिक मामिला भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।