काठमाडौं- विश्वभर विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकता दिइएको छ। अधिकांश देशहरुले समयसीमा तोकेर विद्युतीय सवारीमात्र दर्ता गर्न निर्देशन दिइसकेका छन्। यस्तैमा बेलायतले विद्युतीय सवारीसम्बन्धी नयाँ नियम ल्याउने भएको छ।
बेलायतले अब बन्ने हरेक नयाँ घरमा अनिवार्य रुपमा विद्युतीय कार चार्जिङ प्वाइन्ट बनाउनु पर्ने व्यवस्थाका लागि तयारी गरिरहेको छ। नागरिकहरुलाई विद्युतीय कार प्रयोगमा प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो नियम ल्याएको हो। यसका लागि सरकारले कर छुट तथा अन्य सहुलियत दिने जनाएको छ।
बेलायतले सुरुवाती चरणमा घरमा प्रयोग हुने १ लाख विद्युतीय कार चार्जरमा सहुलियतको घोषणा गरेको छ। यसले नागरिकमा विद्युतीय कार प्रयोगमा प्रोत्साहन मिल्ने सरकारको अपेक्षा छ। गत वर्ष बेलायतमा भएको एक अध्ययनले नागरिकहरु विद्युतीय कार प्रयोगमा निक्कै उत्सुक रहेको देखाएको थियो। उक्त अध्ययनको आधारमा सरकारले विद्युतीय कारको प्रयोग बढाउन नयाँ नियम ल्याएको हो।
सन् २०१७ मा बेलायतमा ८१ लाख प्रयोग भइरहेका कार बिक्री भएको थियो। त्यसमध्ये १० हजार शून्य प्रदुषण कार थिए। यो संख्या सन् २०१६ को तुलनामा ७७ प्रतिशतले बढी हो।
सरकारले इन्धनबाट चल्ने कारको तुलनामा विद्युतीय कार किन्ने नागरिकहरुलाई प्रोत्साहन गर्न विभिन्न अफरहरु दिइरहेको छ। बेलायतमा धेरै मानिसहरुको चाहना विद्युतीय कार किन्ने रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।