अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट जित्न इंग्ल्यान्डलाई अन्तिम दिन ३६५ रन चाहिने

नेपाल लाइभ | २०७६ भदौ २२ आइतबार | Sunday, September 08, 2019 १०:४२:०० मा प्रकाशित

म्यानचेस्टर- अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा नाटकीय जित हात पारेको इंग्ल्यान्डका लागि चौथो टेस्टको अन्तिम दिनमा पनि त्यस्तै खेल आवश्यक पर्ने देखिएको छ।

तेस्रो टेस्टमा बेन स्टोक्सले आक्रामक शतक प्रहार गरेपछि इंग्ल्यान्ड १ विकेटले विजयी भएको थियो। चौथो टेस्टमा पनि जित हात पार्न इंग्ल्यान्डका लागि अन्तिम दिन आज ३ सय ६५ रन बनाउनुपर्नेछ र उसको ८ विकेट बाँकी छ।

खेलको दोस्रो पारीमा अष्ट्रेलियाले ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएर पारी घोषित गरेपछि इंग्ल्यान्डले जितका लागि ३ सय ८३ रनको लक्ष्य पाएको थियो। तर, चौथो दिनमा नै आफ्नो दोस्रो पारी सुरु गरेको इंग्ल्यान्ड सम्हालिन सकेन। ७ ओभरमा १८ रनको स्थितिमा उसले २ विकेट गुमाएको थियो। इंग्ल्यान्डका रोरी बर्न्स तेस्रो बलमै समातिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान जोए रुट बोल्ड हुँदै पेवेलियन फर्किए। रुट गोल्डन डकआउट हुँदा बर्न्सले पनि खाता खोल्न सकेनन्। यी दुवैलाई प्याट क्युमिन्सले आउट गराएका थिए।

इंग्ल्यान्डका लागि अन्तिम दिनको खेल जोए डेन्ली(१० रन) र जसोन रोए(८ रन) ले सुरु गर्नेछन्।

यसअघि अष्ट्रेलियाको दोस्रो पारीमा स्टेभेन स्मिथले ८२ रनको पारी खेले। इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा स्टुआर्ट ब्रोडले २ विकेट हात पारे।

स्मिथले पहिलो पारीमा पनि शानदार ब्याटिङ गरेका थिए। इंग्ल्यान्डका कप्तान रुटको बलमा डेन्लीबाट क्याचआउट हुनुअघि उनको ब्याटबाट २ सय ११ रन निस्किएको थियो। यसबाहेक मार्नुस लाबुस्चाग्नीले ६७, कप्तान टिम पेनले ५८ तथा मिचेल स्टार्कले ५४ रन जोडेपछि अष्ट्रेलियाले ४९७/८ मा पहिलो पारी घोषित गरेको थियो।

इंग्ल्यान्डले पहिलो पारीमा ३ सय १ रन जोडेको थियो। १ सय ९६ रनले पछि परेको इंग्ल्यान्डका लागि बर्न्सले ८१ तथा कप्तान जोए रुटले ७१ रन बनाए।

यसअघि खेलिएका ३ खेलमध्ये दुवै टोलीले १/१ खेलमा जित हात पार्दा एक खेल भने बराबरी टुंगिएको थियो।