तेहरान- इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानुनीरूपमा इन्धन आपूर्तिमा संलग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
इरानले कार्गो बोक्ने उक्त पानीजहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई आफ्नो नियन्त्रणमा लिएको 'इकोफार' समाचार संस्थाले जनाएको छ। नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका जनाइएको छ।
जहाजमा दुई लाख ८३ हजार ९ सय लिटर डिजेल रहेको र नियन्त्रणमा लिइएको इन्धनसहितको जहाज र चालक दलका सदस्य सबैलाई आवश्यक कानुनी कारबाहीका लागि इरानी न्यायलयमा मुद्दा दायर भएको पनि इकोफारले जनाएको छ।
इरान र अमेरिकाबीचको बढ्दो तनाबबीच इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ जाँदै गरेको कार्गो जहाजलाई नियन्त्रणमा लिएका हुन्।
अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी र चीनसहित विश्वका छ प्रमुख शक्ति राष्ट्रले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसलाई गत वर्षको मेदेखि अमान्य घोषणा गरेको थियो।
सम्झौताअनुसार इरानले आफ्नो आणविक शक्तिलाई कटौती गर्ने तथा सम्झौतामा सामेल भएका मुलुकहरूले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई हटाउने उल्लेख भएको थियो। तर, अमेरिकाले गत वर्ष सम्झौता आफूलाई मान्य नभएको घोषणा गरेपछि अमेरिकाले इरानमाथि सम्झौतापूर्व लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई पुनः निरन्तरता दिँदा अमेरिका र इरानबीच राजनीतिक तनाव सिर्जना भएको छ।
इरानले सम्झौतामा सामेल भएका अन्य मुलुक पनि सम्झौताप्रति जिम्मेवार बन्न र अमेरिकी निर्णयका कारण इरानलाई परेको समस्यामा साथ दिन आग्रह गर्दै आएको छ भने उनीहरूले सम्झौतालाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन्।
पछिल्लो समय अमेरिका–इरानबीचको राजनीतिक तनावका कारण इरानले आफ्नो सामुद्रिक क्षेत्रको प्रयोग गर्दै विभिन्न देशमा जाने इन्धन बोक्ने जहाजहरूलाई कब्जामा लिँदै आएको छ भने केहीलाई अनुसन्धानपछि छोडिदिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।