लिभरपुल- इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटनह्यामले २–२ गोलको बराबरी खेलेका छन्।
खेलको तेस्रो मिनेटमै मोहमद सलाहले गोल गरेपछि लिभरपुलले खेलमा सुरुवाती अग्रता लियो। ८० मिनेटमा टोटनह्यामका वान्यामाले बराबरी गोल फर्काए। दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले दोस्रो पटक अग्रता लियो।
तर ह्यारी केनले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा रोके।त्यसअघि खेलको ८७ मिनेटमा प्राप्त पेनाल्टीमा भने केन गोल गर्न चुके। उनको प्रहारलाई लिभरपुलका गोलकिपरले रोकेका थिए।
खेलमा गरेको गोलसँगै केनले प्रिमियर लिगमा सय गोलको कोशेढुंगा पार गरेका छन्। उनले १ सय ४१ खेल खेल्दै प्रिमियर लिगमा सय गोल पूरा गरेका हुन्।
लिगको अर्को खेलमा क्रिस्टल प्यालेस र न्युकासलले १–१ गोलको बराबरी खेलेका छन्।
लिगमा २६ खेलबाट ६९ अंक जोड्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५६ र तेस्रो स्थानको लिभरपुलको ५१ अंक छ। एक खेल कम खेलेको चौथो स्थानको चेल्सीको ५० तथा पाँचौ स्थानको टोटनह्यामको ४९ अंक छ। छैटौं स्थानको आर्सनलको ४५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।