काठमाडौं- एसिसी यु १९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको लक्ष्य श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट जाँदा पूरा गरेको हो।
वर्षाले प्रभावित भएर ४२ ओभरमा झारिएको खेलमा नेपालले १५९ रन बनाए पनि श्रीलंकाका लागि लक्ष्य १५९ मा नै झारिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १५९ रन बनाएको थियो। कोलम्बोको आर प्रेमादासा मैदानमा नेपालको मध्यम रन श्रीलंकाले सहज रुपमा नै पार गरेको हो।
श्रीलंकाका लागि कामिल मिश्राले अर्धशतक बनाए। ६२ बल खेलेका उनले ५५ रन बनाएका हुन्। यस्तै नाभोद दिनुश्रीले १० बलमा १२ रन बनाए। रविन्दु डि सिल्भाले १६ बलमा १५ रन, आहन बिक्रमासिंघेले ३६ बलमा ३० रन बनाए। अभिस्का थारिन्दुले ४४ बलमा २५ रन र निपुन धनञ्जयले ३१ बलमा १८ रन बनाए।
नेपालका रासिद खानले दुई र सागर ढकाल, कमल सिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।
यसअघि नेपालका लागि ओपनिङमा आएका ऋत गौतमले अर्धशतक बनाएका थिए। ८५ बल खेलेका ऋत ५४ रन बनाएर आउट भएका हुन्। यस्तै चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान रोहित पौडेल भने अर्धशतको नजिक पुगेर चुके। उनले ८० बलमा ४७ रन बनाएका थिए।
अर्का ओपनर पवन सर्राफ भने १३ बल खेलेर ४ रन बनाउँदा आउट भए। यस्तै आसिफ शेखले १२ बलमा ७ रन मात्रै बनाउन सके। हरि चौहानले २३ बलमा १२ रन, भिक सार्की २ बलमा १ रन, कुशल मल्ल ८ बलमा २ रन, कमल सिंह ऐरी ५ बलमा २ रन, सागर ढकालले ४ बलमा १ रन बनाए। यस्तै सूर्य तामाङ १ बलमा १ रन साथै रसिद खान २२ बलमा १५ रन बनाएर अविजित रहे।
श्रीलंकाका दिलसान मधुशंकाले ३, नाभोद दिनुश्रीले ३ साथै आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक/एक विकेट लिए।
नेपाल एसिया कपको समूह ‘बी’ मा टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशका साथै युएईसँग रहेको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्। समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्ने छन्।
नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।