काठमाडौं- एसिसी यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य दिएको छ। ४२ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १५९ रन बनाएको हो।
कोलम्बोको आर प्रेमादासा मैदानमा नेपालका लागि ओपनिङमा आएका ऋत गौतमले अर्धशतक बनाए। ८५ बल खेलेका ऋत ५४ रन बनाएर आउट भए। यस्तै चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान रोहित पौडेल भने अर्धशतको नजिक पुगेर चुके। उनले ८० बलमा ४७ रन बनाए।
अर्का ओपनर पवन सर्राफ भने १३ बल खेलेर ४ रन बनाउँदा आउट भए। यस्तै आसिफ शेखले १२ बलमा ७ रन मात्रै बनाउन सके। हरि चौहानले २३ बलमा १२ रन, भिक सार्की २ बलमा १ रन, कुशल मल्ल ८ बलमा २ रन, कमल सिंह ऐरी ५ बलमा २ रन, सागर ढकाल ४ बलमा १ रन बनाए।
यस्तै सूर्य तामाङ १ बलमा १ रन साथै रसिद खान २२ बलमा १५ रन बनाएर अविजित रहे।
श्रीलंकाका दिलसान मधुशंकाले ३, नाभोद दिनुश्रीले ३ साथै आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक/एक विकेट लिए।
केहीबेरमा श्रीलंकाले जवाफी ब्याटिङ गर्नेछ।
नेपाल एसिया कपको समूह ‘बी’ मा टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशका साथै युएईसँग रहेको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्। समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्ने छन्।
दोस्रो खेलमा नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।