सन्चुरियन– दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ। भारतले आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
दक्षिण अफ्रिकाले दिएको १ सय १९ रनको झिनो लक्ष्य भारतले २०.३ ओभरमा १ विकेटको क्षतिमा पार गर्यो। भारतका लागि शीखर धवनले नटआउट ५१ रन र कप्तान विराट कोहलीले नटआउट ४६ रन जोडे। त्यसअघि ओपनर रोहित शर्मा १५ रनमा आउट भए।
त्यसअघि खराब ब्याटिङ गरेको दक्षिण अफ्रिका ३२.२ ओभरमा १ सय १८ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाले घरेलु भूमिमा खेलेको एकदिवसीय खेलमा सबैभन्दा कम रन बनाएको हो। दक्षिण अफ्रिकाका लागि खाया जोन्डो र जेपी डुबीले २५–२५ रन जोडे। हसिम अम्लाले २३ र क्वान्टन डे कक २० रनमै पेभेलियन फर्के। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङतर्फ भारतका युजभेन्द्र चाहालले ५ विकेट लिए। कुलदिप यादवले ३ विकेट हात पार्दा भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान १–१ विकेट लिए। ६ खेलको सिरिजमा भारतले २–० को अग्रता लिएको छ। यसअघि पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।