खटाएका ठाउँमा २१ दिनभित्र नपुग्ने कर्मचारीको जागिर समाप्त हुन्छ : मन्त्री पण्डित

नेपाल लाइभ | २०७६ भदौ १९ बिहीबार | Thursday, September 05, 2019 १७:३०:०० मा प्रकाशित

राजविराज– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएका ठाउँमा २१ दिन भित्र नपुग्ने कर्मचारीको जागिर समाप्त हुने बताएका छन्।

कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न बिहीबार सप्तरी आएका मन्त्री पण्डितले समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। सरकारले बुधबार मात्रै कर्मचारीलाई काममा खटाउने सम्बन्धमा नयाँ निर्णय गरेको जानकारी दिँदै उनले भने, ‘जुन कर्मचारीलाई जहाँ खटाइएको छ त्यहाँ अनिवार्य जानुपर्छ। उनीहरुले तलब/सेवासुविधा पनि त्यहीँबाट पाउने हुन्।’ 

सरकारको निर्णय बेवास्ता गर्ने कर्मचारीको तलब, भत्ता र सुविधा समेत रोकिने उनको भनाइ थियो। ‘२१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तिको बाटो सुरु हुने हो,’ उनले भने।

मन्त्री पण्डितले लोकसेवा विज्ञापनको विषयलाई लिएर विगतमा भएको आन्दोलन भ्रम छर्नका लागि मात्रै भएको जिकिर पनि गरे। 

कञ्चनरुप प्रदेश २ को पहिलो बालमैत्री नगर
मन्त्री पण्डितले कञ्चनरुप नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गरे।

बालमैत्री स्थानीय तह घोषणाका लागि निर्धारित सूचकहरु १२ वटै वडाले पूरा गरेपश्चात् नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गरिएको हो। कञ्चनरुप नगरपालिका प्रदेश २ कै पहिलो बालमैत्री नगरपालिका भएको छ।

नगरपालिकाका मेयर वसन्त कुमार मिश्रले मुलुक संघीयतामा गएपछि कञ्चनरुप नगरपालिका नेपालको तेस्रो तथा प्रदेश २ को पहिलो बालमैत्री नगर भएको दाबी गरे। 

बाल बचाऔं, संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकास लगायतका मापदण्ड पूरा भएपछि बालमैत्री नगर घोषणा गरिएको उनले बताए। बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरे बमोजिम ३९ वटा सूचकहरु नगरपालिकाले पूरा गरिसकेको उनको भनाइ थियो। 

बालसंरक्षण र विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको मेयर मिश्रले जानकारी दिए। (फाइल तस्बिर)