काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहसँग शिष्टाचार भेट गरेका छन्।
मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा सुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले माल्दिभ्सका राष्ट्रपति सोलिहसँग भेट गरेका हुन्।
त्यस अवसरमा उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र माल्दिभ्सको पर्यटन प्रवर्द्धन, नेपाली नागरिकलाई माल्दिभ्समा रोजगारीका अवसर, जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्ने साझा प्रयास तथा दुवै देशका साझा सरोकारका मुद्दामा अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा सहयोग बढाउने तथा उठाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्रीमार्फत माल्दिभ्सका राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीमा शुभकामना व्यक्त गरेका छन्। हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्परिक चुनौती विषयक सम्मेलन आज समापन हुँदैछ।
आजै अपराह्न मन्त्री ज्ञवाली त्यहाँबाट स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।