ब्रसेल्स- बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताव नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको युरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ।
युरोपेली आयोगकी प्रवक्ताले भनिन्, 'बेलायतसँग बहिर्गमनका सम्बन्धमा कूटनीतिक प्रक्रियाबारे ‘प्राविधिक वार्ताहरू’ भइरहेका छन् तर यसमा कुनै उल्लेखनीय प्रगति भएका छैनन्।'
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटका लागि नयाँ सम्झौता हुन सम्भव भए सम्झौता गरेर अन्यथा सम्झौताबिहीन अवस्थामा पनि तोकिएकै समय (अक्टोबर ३१ मा) बेलायत इयूबाट औपचारिकरूपमा बाहिरिने बताएका छन्। जोनसनको भनाइको विरोध गर्दै उनको आफ्नै दल कन्जरभेटिभ पार्टीका केही र विपक्षी लिवरल पार्टीका सांसदहरूले सम्झौताबिहीन अवस्थामा ब्रेक्जिट हुने अवस्था आउन नदिने बताएपछि इयूको यो प्रतिक्रिया आएको हो।
'हाम्रो बुझाईमा आगामी अक्टोबर ३१ मा बेलायत इयूबाट बाहिरिनेछ,' आयोगकी प्रवक्ता मीना आन्द्रिवाले सञ्चारकर्मीसँगको कुराकानीमा बताइन्।
सो सम्बन्धमा इयू अधिकारीसँग वार्ताका लागि बेलायतका उच्च कूटनीतिज्ञ ड्याभिड फ्रस्ट बुधबार ब्रसेल्स जाने कार्यक्रम छ। तर, आन्द्रिवाले भने पूर्व सहमतिलाई संशोधनका लागि बेलायतले कुनै उल्लेखनीय प्रस्ताव अहिलेसम्म नल्याएको बताइन्।
जोनसनलगायतका ब्रेक्जिट अभियानका नेताहरूले यस पहिले पूर्वप्रधानमन्त्री थेरेसा मेद्वारा इयूसँग गरेको सम्झौता बेलायतको हितमा नभएको भन्दै विफल पारिदिएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।