काठमाडौं- सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषद् सदस्यहरुसँग छलफल गरेका छन्।
दिउँसो १ बजेपछि छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले ट्विटरमार्फत जानकारी दिएका छन्।
यसअघि मन्त्रिपरिषद् गत भदौ ९ गते पनि यस्तै छलफल गरिएको थियो।
त्यसलाई प्रधानमन्त्री ओली र सल्लाहकार रिमाल दुवैले मन्त्रिपरिषद् बैठक भनेका थिए। तर, त्यसमा विवाद देखिएको थियो। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हाइहेल्लो मात्रै गरिएको भन्दै संसदमै जवाफ दिनुपरेको थियो। मंगलबार भने छलफल मात्रै भनिएको छ।
प्रधानमन्त्री ओली भदौ ५ गते उपचारको लागि सिंगापुर गएका थिए। भोलिपल्टदेखि नै उनको प्लाजाफेरेसिस गरी मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने काम भइरहेको छ।
आइतबार उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले यो प्रक्रिया बुधबार पूरा हुने बताएका थिए।
गत साउन १८ गते पनि प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएका थिए। ९ दिनपछि अर्थात् साउन २७ गते नेपाल फर्किएका थिए।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।