काठमाडौं– संघीय संसद्का समिति सभापतिका लागि खरिद गरिएका गाडीमा समस्या देखिएपछि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन मंगलबार सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ।
छानबिनका क्रममा आर्थिक अनियमितता भने नदेखिएको छानबिनका समितिका संयोजक रामनारायण बिडारीले बताए।
'आर्थिक चलखेलको विषयमा अनुमान गर्नुबाहेक प्रमाणबाट केही देखिएन। अनुमान त जसले जति गरे पनि भयो', प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरुसँग बिडारीले भने, 'कागजातबाट पुष्टि भएन।'
समितिको छानबिनका क्रममा तीनवटा गाडीमा बढि समस्या देखिएको थियो। गाडी फिटिङ गर्दा राम्रोसँग नगरिएको, स्पिकर पनि नमिल्दो प्रकारले हालेको जसले गर्दा सिसा खोल्न र लगाउन समस्या भएको, गाडीको आवाज बढी आउने तथा अन्य सामानहरु पनि न्युन गुणस्तरको पाइएको बिडारीले बताए।
सामान्य मर्मत गर्दा हुने खालको गाडीलाई सात दिनभित्रै चुस्त दुरुस्त बनाउन सिफारिस गरेको उनले बताए। 'सात दिनभित्र बनाइएन भने वा बनाएको मिलेन भने ती गाडीहरु फिर्ता पठाउन भनिएको छ', उनले भने, 'खराब गाडी फिर्ता गरिएन भने आपुर्तीकर्तालाई प्रचलित सार्वजनिक खरिद ऐन र नियम बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ।'
सभामुख महराले भने प्रतिवेदन आफूले अध्ययन गर्ने बताए। छानबिन समितिको कुरा सर्सर्ती सुन्दा प्रतिवेदन राम्रो बनेको आफूलाई लागेको उनले बताए।
११ समिति सभापतिले गत ८ साउनमा पाएका गाडीमा विभिन्न समस्या देखिएको थियो। गुनासो बढेपछि भदौ सुरुवातमा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा मानवअधिकार तथा कानुन समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, लेखा समिति सभापति भरत साह र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।