काठमाडौं - नेपालले आउँदो असोज १८ देखि २३ गतेसम्म ओमनमा हुने पाँच देश सम्मिलित टी-२० सिरिजको तयारी गरिरहँदा उपकप्तान ज्ञानेन्द्र मल्लले आफू सहभागी नहुने जनाएका छन्। व्यक्तिगत कारण प्रतियोगिता खेल्न नसक्ने उनको भनाइ रहेको छ।
ज्ञानेन्द्र नेपालका लागि टी-२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी हुन्। उनले अघिल्लो महिना सिंगापुरमा भएको टी-२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध २० बलमा अर्धशतक पूरा गरेका थिए ।
टी-२० विश्वकपको एसियाली छनोटबाट नै बाहिरिसकेको भए पनि ग्लोबल छनोटको तयारीका लागि गर्न लागिएको प्रतियोगितामा नेपाल सामेल हुने तय यसअघि नै भएको थियो। प्रतियोगितामा नेपाल र ओमनसहित हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड्स सहभागी हुने छन्।
ओमनले प्रतियोगिताको तयारी नेपालले टी-२० विश्वकपको एसियाली छनोट खेल्नु अघि नै गरेको थियो। नेपाल ग्लोबल छनोटमा पुग्न नसकेपछि खेल्ने या नखेल्ने एकीन भएको थिएन। तर आईसीसीले नेपाललाई सहभागी हुने अनुमति दिएसँगै नेपालले महत्वपूर्ण सिरिज खेल्न पाउने भएको हो।
नेपालले आफ्नो पहिलो खेल असोज १९ मा हङकङसँग खेल्नेछ। दोस्रो खेल असोज २० मा नेदरल्याण्ड्ससँग, तेस्रो खेल असोज २२ मा आयरल्याण्डसँग र चौथो खेल असोज २३ मा ओमनसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।