काठमाडौं- डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका युएस ओपनको अन्तिम १६ बाट बाहिरिएकी छिन्। स्विजरल्यान्डकी बेलिन्डा बेन्किकसँग ७-५ र ६-४ को सोझो सेटमा पराजित हुँदै उनी प्रतियोगिताबाट बाहिरिएकी हुन्।
न्युयोर्कको फ्लसिङ मिडोजमा भएको खेलको पहिलो सेटमा बलियो दाबेदारी दिएकी नाओमीमाथि बेलिन्डाले दोस्रो सेट भने एकपक्षीय रुपमै आफ्नो पक्षमा पारेकी थिइन्।

हारसँगै नाओमी विश्व नम्बर एकको र्यांकिङबाट घटुवा भएकी छिन्। अष्ट्रेलियाकी एस्लेघ बार्टी पुनः पहिलो नम्बरमा फर्किएकी छिन्।
बेलिन्डाले अन्तिम ८ मा डोन्ना भेकिकको सामना गर्नेछिन्।
उता पुरुषतर्फ राफेल नाडाल अन्तिम ८ मा प्रवेश गरेका छन्। युएस ओपनको सन् २०१४ का च्याम्पियन मारिन किलिकलाई ६-३, ३-६, ६-१ र ६-२ को सेटमा पराजित गर्दै नाडालले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन्।
पहिलो सेटमा सहज जित हात पारेका नाडालले दोस्रो सेट भने गुमाउनुपर्यो। तर, त्यसपछिका दुवै सेटमा किलिकलाई नाडालले कुनै पनि मौका दिएनन् र एकपक्षीय जित हात पारे।
१८ पटकका ग्रान्डस्लाम विजेता नाडाल अन्तिम ८ को प्रतिस्पर्धामा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानसँग भिड्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।