काठमाडौं- ला लिगामा आउँदो खेलमा लेभान्टेसँग प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको रियल मड्रिड समस्यामा परेको छ। केही खेलाडी घाइते रहेर अहिले नै समस्यामा रहेको टिमका केही खेलाडी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जानुपर्ने भएपछि मड्रिडमा समस्या बढेको हो।
दुई हप्तापछि रियल मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग प्रतिस्पर्धा गर्दै छ। हिजो राति भिलारियलसँग २-२ को बराबरी खेलेको रियल मड्रिडले तीन खेलमा एक मात्रै जितेको छ। पहिलो खेलमा सेल्टाभिगोलाई ३-१ ले हराएको मड्रिड दोस्रो खेलमा भायाडोलिडसँग १-१ को बराबरीमा रोकिएको थियो।
यस्तोमा लेभान्टेसँग घरेलु मैदानमा हुने महत्वपूर्ण खेलका बेला १४ खेलाडी अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टिममा जाने भएकाले टिममा १२ खेलाडी मात्रै बाँकी हुने देखिएको हो। जसमा पनि पाँच खेलाडी त घाइते रहेका छन्।
प्रशिक्षक जिनेदिने जिदानको भूमिका कमजोर बनेको आँकलन भइरहँदा उनमाथिको दबाब पनि बढीरहेको छ। सिजन सुरु हुने बेला रियल मड्रिडबाट हटाउन खोजिएका ग्यारेथ बेलकै बलमा मड्रिडको आश जोगिएको हो।
रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जिताएर गएको सिजनअघि क्लब हिँडेका प्रशिक्षक जिनेदिने जिदान सिजनको ११ खेल बाँकी हुँदा पुनः क्लब भित्रिएका थिए।
बाँकी ११ खेलमा गएको सिजन नै राम्रो गर्न नसकेका जिदानका लागि नयाँ सिजनमा पर्ख र हेरको अवस्था थियो। तर गएको मार्चमा वर्षकै तेस्रो प्रशिक्षकका रुपमा मड्रिड फर्किएपछि जिदानको क्षमता कमजोर भएको हो या टिममा हुनुपर्ने तालमेल अझै मिल्न नसकेको हो भन्नेमा प्रश्न उठिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।