काठमाडौं– थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले आहारारा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १–० ले हराउँदै ८ वर्षपछि आहारारा गोल्डकपको उपाधि जितेको हो।
पुलिसको जितमा राम वाजीले थप गरिएको १० मिनेटमा गोल गरेका थिए। त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा २० मिनेट थप गरिएको थियो।
थ्रीस्टारले बंगलादेशी क्लब उत्तर बरिन्धारालाई ५-० ले तथा पुलिसले धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
१६ संस्करणको उपाधिसँगै पुलिस पाँचौ पटक आहारारा गोल्डकपमा च्याम्पियन बन्यो। थ्रीस्टारले भने ४ पटक उपाधि जितेको छ। योसँगै पुलिसले मनाङ मर्स्याङ्दीको रेकर्डसँग बराबरी गर्यो। मनाङले पनि ५ पटक जितेको छ। पछिल्लो पटक पुलिसले २०६६ सालमा उपाधि जितेको थियो।
२०५८ मा क्याराभान गोल्डकबपबाट सुरु भएको प्रतियोगितामा पनि पुलिस च्याम्पियन बनेको थियो। त्यो समेत जोड्दा पुलिसले ६ पटक उपाधि जितिसकेको छ।
पुलिसले क्याराभानबाहेक २०५९ सालको पहिलो गोल्डकपसहित छैटौँ देखि आठौँ संस्करणसम्म लगातार ३ पटक उपाधि जितेर ह्याट्रिक समेत गरेको थियो।
यस्तै गत वर्ष धरानमा बुढासुब्बा गोल्डकपको उपाधि जितेको पुलिसले केही समयअघि राखेप च्याम्पियनसिप अन्तर्गत २८औँ राष्ट्रिय पुरुष फुटबलको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।